जोखिममा रहेका करिब ४०० जनालाई काठमाडौँका ४ विद्यालयमा आश्रय

महानगरले जोखिममा रहेका परिवारलाई आश्रय दिनका लागि करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको जनाएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले जल तथा मौसमजन्य विपद्को सम्भावित क्षति न्यूनीकरणका लागि सम्पूर्ण स्रोत र जनशक्ति परिचालन गरेको जनाएको छ। 

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका बस्ती, मानिस तथा भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोतसाधन र उपकरण परिचालन गरिएको महानगरपालिका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनका अनुसार महानगरले जोखिममा रहेका परिवारलाई आश्रय दिनका लागि करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाएको छ। 

यसैबीच जोखिममा रहेका करिब ४०० जनाले काठमाडौँका चार विद्यालयमा लिएका छन्। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ७० जना, थापाथलीस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा ५२ जना, कुलेश्वरस्थित जन विकास माध्यमिक विद्यालयमा ५२ परिवारका २५१ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जनालाई राखिएको हो।

उनले यी विद्यालयमा आश्रय लिएकाहरूका लागि खाने, शौचालय, पानीलगायतका आधारभूत सुविधा महानगरले उपलब्ध गराइरहेको जानकारी दिँदै महानगरका अधिकारीहरूलाई नियमित रूपमा जोखिमयुक्त क्षेत्रहरूमा खटाइएको बताएका छन्।

नागरिकलाई विपद्का कारण कष्ट तथा असुविधा भोग्न नपरोस् भनेर २४सै घण्टा संयन्त्र परिचालन गरेको, जोखिममामा परेका व्यक्तिले हेल्पलाइन नम्बरहरू १६६००१०५५११, ९८५१३५६५०९, ०१-५९०१७६४ र ०१-५९०१७६३ मा सम्पर्क गरेर सहयोग लिन सकिने महानगरले जनाएको छ।null