बाटोमै अलपत्र यात्रुलाई चितवनका होटलमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, चितवन प्रवेश गरेका र सवारी आवागमन बन्द भएर गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई जिल्लाभरका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिइनेछ।

चितवन– भारी वर्षाका कारण चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुहरूलाई जिल्लाका होटल तथा लजमा कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरिएको छ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूसहित सम्पन्न बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई जिल्लाभरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिइनेछ।

निर्णय कार्यान्वयनको अवस्था बुझ्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले निरन्तर अनुगमन गर्ने पनि उनले जानकारी दिए।

होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुहरूले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताए। उनले यात्रुको बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिइने जानकारी दिए।

चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्नेछन्।