सप्तकोशीमा जलबहाव उच्च: कोशी बराजका ३९ ढोका खोलिए

कोशी बराजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको छ।

धरान– अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी बराजका ३९ वटा खोलिएका छन्।

जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी बराजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको जानकारी दिए। उनका अनुसार बिहान ७ बजे सो नदीको जलबहाव मापन गरिएको थियो। 

शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेन्ड पाइएपछि १५ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी बराजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। यसपछि लगातार पानीको बहाव घटेको थियो। शुक्रबार र शनिबार लगातार वर्षा भइरहेको कारण बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए। 

कोशी बराजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी बराजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।