इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो, १२ बेपत्ता

माङसेबुङ गाउँपालिका–१ का दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

काठमाडौँ– इलामको विभिन्न स्थानमा शनिबार रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। दुई जना गम्भीर घाइते भएका छन्। 

सशस्त्र प्रहरी बल नेपालका अनुसार इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, देउमाई नगरपालिकामा २, फाकफोकथुम गाउँपालिकामा १, माङसेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको हो। 

विभिन्न स्थानमा गएको पहिरोले कम्तीमा १२ जना बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। उनका अनुसार पहिरोले दर्जनौँ घरमा क्षति पुर्‍याएको छ।

पहिरोका कारण घर पुरिएपछि इलाममा यतिधेरै संख्यामा मानवीय क्षति भएको हो। पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेका छन्। 

माङसेबुङ गाउँपालिका–१ का दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।