ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
काठमाडौँ– असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नदी कटान, डुबान र बाढीले उक्त क्षति भएको हो। “प्रारम्भिक विवरणअनुसार करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।
नदी नियन्त्रणतर्फ, झापा जिल्ला सबैभन्दा बढी प्रभावित देखिएको छ। कनकाई नदीले गौरीगञ्ज–२ मा हुलाकी राजमार्ग नजिकै करिब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घरपरिवार डुबानमा परेका छन्। यसबाट करिब ५०० हेक्टर धान खेतमा क्षति पुगेको जनाइएको छ।
सोही नदीले झापा गाउँपालिका–२ कुवाडीमा थप २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जमिनमा क्षति पुर्याएको छ, जसको अनुमानित लागत ७५ लाख रुपैयाँ पुगेको छ। यसैबीच, मेची नदीले विभिन्न स्थानका स्परहरूमा क्षति पुर्याएको छ र यसको लागत करिब ५० लाख रुपैयाँ अनुमान गरिएको छ।
तराईका अन्य क्षेत्रमा पनि बाढीले ठूलो नोक्सान पुर्याएको छ। विराटनगर महानगरपालिका–६ र १२ मा केशलिया नदीको बाढीले ७५ घरधुरी डुबानमा पारी विस्थापित हुनुपरेको छ। सिरहामा कमला नदीले पटेरुवाको तटबन्धमा क्षति पुर्याउँदा करिब २५ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ।
रौतहटमा लालबकैया नदीले १८० मिटर तटबन्ध बगाउँदा मौलापुर र बौदीमाई क्षेत्रमा करिब ३०० हेक्टर धान खेत र २०० घरगोठ डुबानमा परेका छन्। यसबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको विज्ञप्तिमा उल्लेख छ।
महोत्तरीमा रातो नदीले बलवा, लोहरपट्टी, रतबारा तथा जलेश्वर क्षेत्रका तटबन्धहरू कुल ८९० मिटर कटान गरी ८ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। यस कटानले सदरमुकाम जलेश्वरसमेत बाढीको उच्च जोखिममा परेको छ।
सिँचाइतर्फ भने, विभिन्न आयोजनाका गेटहरू समयमै सञ्चालन गरिएकाले ठूला संरचनागत क्षति हुनबाट जोगिएको मन्त्रालयले जनाएको छ। यद्यपि, झाँज सिँचाइ प्रणालीनजिकै मोहमदपुर गाउँ डुबानमा परेको छ भने सुनसरी–मोरङ, बागमती र नारायणी सिँचाइ आयोजनाभित्रका खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेका छन्।
यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ। आयोजनाको कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने हालसम्म यकिन हुन नसकेको बताइएको छ।
कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङलगायत पहाडी जिल्लामा पहिरोका घटना भएका छन्। यद्यपि, ती क्षेत्रका क्षतिको विस्तृत विवरण भने संकलन भइनसकेको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
