न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै मौसममा सुधार, कोशीमा भने जोखिम कायमै

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन कमजोर भई मौसममा सुधार आए पनि कोशी नदीको चतरा केन्द्रमा बहाव खतराको तहनजिकै रहेकाले बाढी र डुबानको जोखिम रहेको भन्दै सचेत गराएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले नेपालबाट न्यून चापीय प्रणाली बाहिरिइसकेको जानकारी दिँदै मनसुन कमजोर भई मौसममा सुधार आउन थालेको बताएको छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिए पनि अझै आकस्मिक बाढी र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

“वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भई नसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ,” विभागका प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको थियो। यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा मापन गरिएको थियो भने कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा भएको थियो।

नदीहरूको जलसतह घट्दो क्रममा
अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीहरूको जलसतह खतराको तह नाघेको थियो। हाल ती नदीहरूमा जलसतह घट्दो अवस्थामा रहेको विभागले जनाएको छ। 

त्यस्तै, असोज १९ गते बिहान सापेक्ष रूपमा कोशी नदी र यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत जलसतह खतराको तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ। 

यसैगरी, कनकाई, बुढी खोला, लोहन्रा, खेसलैया र बिरिङ नदीमा पनि जलसतह खतराको तह पार गरेर हाल स्थिर हुँदै गएको छ।

कोशीमा जोखिम कायमै
मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टाभित्र रौतहटको महेशपुरमा सबैभन्दा धेरै ३५८ मिमि वर्षा मापन भएको थियो। असोज १९ गते बिहानसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटामा वर्षा मापन भएको थियो। 

विभागका अनुसार तीमध्ये १०५ वटामा ५० मिमिभन्दा बढी, ६८ वटामा १०० मिमिभन्दा बढी, २१ वटामा २०० मिमिभन्दा बढी र ५ वटामा ३०० मिमिभन्दा बढी वर्षा मापन भएको थियो।

तर, कोशी नदीको चतरा केन्द्रमा भने बहाव खतराको तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम यथावत् रहेको भन्दै विभागले सचेत गराएको छ। 

“कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटीयक्षेत्र तथा डुबान भइरहने क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ।