गठबन्धनका उम्मेदवारको प्रतिबद्धता : ललितपुरवासीले गर्व गर्ने सहर बनाउँछौँ

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुरमा सत्ता गठबन्धनका तर्फका उम्मेदवारले ललितपुरलाई ललितपुरवासीले गर्व गर्न लायक बनाउने प्रतिवद्धता जनाएका छन्।

तस्वीर : पम्फा भुसालको फेसबुक।

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुरबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मदेवारहरूले ललितपुरवासीले गर्व गर्न लायक सहर बनाउने प्रतिबद्धता जनाएका छन्। सत्ता गठबन्धनका उम्मेदवारले ललितपुरलाई पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई प्राथमिकतामा राखेर ‍नीति र कार्यक्रम बनाउने प्रतिबद्धता जनाउँदै मतदातासँग मत मागेका हुन्।

मंगलबार सत्तारूढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभाअन्तर्गत सत्ता गठबन्धनका उमेदवार पम्फा भुसाल, उदयशमशेर राणा, कृष्णलाल महर्जनले मौलिक संस्कृतिको प्रवर्द्धन गर्नका साथै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य रहेको बताएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी नेतृ भुसाल सत्ता गठबन्धनका तर्फबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी छन्। कांग्रेसका राणाले क्षेत्र नं. १ र नेकपा एकीकृत समाजवादीका महर्जनले क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन्।

भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताइन्। उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागू गर्ने बताउँदै पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर नीति र कार्यक्रम बनाउन आफू प्रतिबद्ध रहेको बताइन्।

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने योजना सुनाइन्। उनले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गर्न जोड दिने उल्लेख गरिन्।

"स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निमाण र संरक्षण गरी उपयोग गर्नेछौँ। र पर्यटन उद्यमलाई प्रोत्साहन गर्नेछौँ," उनले भने, "पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्ने र ललितपुरबासीले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु।"

त्यस्तैगरी, क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनका निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाइ मत ल्याउनुपर्ने बताए। उनले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याइ बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य रहेको सुनाए।

"लोकतान्त्रिक–वाम गठबन्धनको सरकार बनिसकेपछि हाम्रो मूल दिशा भनेको यो देशको उन्नति, यो देशको आर्थिक परिस्थितिलाई परिवर्तन गरेर धेरै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यअनुसार अगाडि बढेका छौँ," उनले भने।

उनले आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणामअनुसार गठबन्धनको मत एमालेको भन्दा १५ हजार बढी रहेको भन्दै आफ्नै मत सुरक्षित गरेमा निर्वाचन जित्न सकिने बताए।

त्यसैगरी क्षेत्र नं. २ का उम्मेदवार महर्जनले आफू विगतमा सांसद हुँदा मतदाताले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा आफ्नै नेतृत्वको गलत कामका विरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै खराब काम गर्नेविरुद्ध सधैँभरी लाग्ने प्रतिबद्धता जनाए।