दार्जिलिङमा बाढीपहिरोमा परी २० जनाको मृत्यु

उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कम्तीमा २० जनाको ज्यान गएको छ।

दार्जिलिङमा बाढीपहिरोमा परी २० जनाको मृत्यु
तस्वीर : पीटीआई

उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका एक सांसदले आइतबार जानकारी दिएका छन्।

पूर्वी राज्य पश्चिम बंगालको पहाडी जिल्लामा रातभर ३०० मिलिमिटर (१२ इन्च) भन्दा बढी वर्षा भएको थियो। वर्षापछि नदीहरूमा आएको तीव्र भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ। पानीको भेलले पुलहरू भत्काउनुका साथै सडकहरू ध्वस्त पारेको छ।

“गत रात दार्जिलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्,” भारतको माथिल्लो सदन (राज्यसभा)का सांसद हर्षवर्धन शृङ्गलाले भने।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकारले निरन्तर निगरानी गरिरहेको छ’ भनी उल्लेख गरेका छन्।

यसैगरी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै 'हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्' भनेकी छन्।

मुख्यमन्त्री बनर्जीका अनुसार विपद्मा दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन् र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन्।

दक्षिण एशियामा मनसुनको समयमा बाढी र पहिरो सामान्य भए पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता प्राकृतिक विपद्हरू हालका वर्षहरूमा झन् बारम्बार र घातक बन्दै गएका छन्।