अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै

वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आइतबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ।

लुम्बिनी– अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सले आइतबार चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ। 

प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक अवरुद्ध भएको र हवाई टिकट पाउन मुस्किल भएको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा चार्टर फ्लाइट उडान गर्न लागिएको बताए। उनले यसबाट काठमाडौँ जाने यात्रुलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

“यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन्। यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन्। सडक अवरुद्ध छ। हवाई टिकट पाउन मुस्किल छ,” उनले भने, “यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौँ जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ।”

चार्टर फ्लाइटका लागि सो एयरलाइन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ। विपद्को समयमा सर्वसाधारण जनतालाई सेवा दिने गरी नेपाल एयरलाइन्सले भैरहवा–काठमाडौँ चार्टर उडान गर्न थालेको हो।