मनाङको प्रदेशसभा उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै कात्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनको पूर्वप्रकाशित कार्यतालिकाअनुसारका सम्पूर्ण काम हाललाई रोकिएको जनाएको हो।

“भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट कर्फ्यू आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाबमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने गरी पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्यहरू आयोगको मिति २०८२/०६/१९ को निर्णयानुसार हाललाई स्थगन गरिएको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार नै निर्वाचन आयोगका पदाधिकारी र नेपाल सरकारका मन्त्रीहरूबीच आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ। छलफल प्रतिनिधिसभा, राष्ट्रियसभा निर्वाचन तथा मनाङ उपनिर्वाचनको कार्यक्रम/कार्यतालिकालगायत समग्र निर्वाचन तयारीमा केन्द्रित रहेको थियो।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीसम्बन्धी काम कारबाहीबारे जानकारी गराएका थिए। जवाफमा सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि स्रोतसाधन र शान्ति सुरक्षासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानूनमन्त्री अनिलकुमार सिन्हा तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारी उपस्थित थिए।

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई सफल बनाउन सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई सहयोगका लागि अनुरोध गरेको छ।