नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाले पहिरोको उच्च जोखिम बढाएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो।

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आइतबार राति ९ बजेपछि बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए। 

यसअघि नै जिल्ला भित्रिने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उनले बताए। “मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ। अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ,” खनालले भने, “अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन।”

यसअघि बर्सातका कारण रोकिएका सवारीसाधनलाई आइतबार बिहानदेखि आवश्यकताअनुसार गन्तव्यतर्फ पठाइएको थियो। साथै, स्थानीय प्रशासनको समन्वयमा आइतबार मात्रै पाँच वटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौँ पठाइएको थियो।