मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

महाशाखाले मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा सोमबार र मंगलबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। 

महाशाखाले सोमबारबाट मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेष गरी सोमबार र मंगलबार कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो।  

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ। 

ती प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

विभागका अनुसार चार दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ। मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी सोमबारदेखि मात्रै बारिन थालेको विभागले जनाएको छ। 

“यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट बाहिरिएको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बर्हिगमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए। “सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ। यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिर्गमन भएको छ,” उनले भने।