खुले हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग

अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन्।

काठमाडौँ– अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन्।

प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यकबाहेकका सवारीसाधनलाई तीन दिनसम्म काठमाडौँ प्रवेशमा रोक लगाउने सूचना जारी गरेपछि त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा फाखेल र सिस्नेरीका वैकल्पिक मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा लेदोसहितको पहिरोले फाखेल–काठमाडौँ सडकखण्ड तथा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो बन्द भएपछि अवरोधहरू हटाएर तत्काल खुलाउन पहल गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले बताए।

मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह नेतृत्वको टोलीले स्थानीय प्रशासनसँग समन्वय गरी फाखेल सडकखण्ड तीन घण्टाभित्रै पहिरो पन्छाएर सञ्चालनमा ल्याएको थियो। सिस्नेरी खण्डमा भने वर्षा रोकिएलगत्तै स्काभेटरसहित सुरक्षाकर्मीको टोली परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ।

निर्देशक सिंहका अनुसार सवारी आवागमनमा रोक लगाएको भए पनि केही आकस्मिक अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने १०३ नागरिक तथा पर्यटकहरू सवार १५ वटा सवारीसाधनलाई काठमाडौँ पठाइएको थियो।

उक्त मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार बाढी पहिरोका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चार स्थानमा जेसिबी, स्काभेटरलगायत उपकरणसहित टोली तयारी अवस्थामा राखिएको थियो। पूर्वतयारी राम्रो हुँदा सडक अवरोध हटाउन सम्भव भएको उनले बताए।

उनका अनुसार सम्भावित अवरोधलाई ध्यानमा राख्दै कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी–दक्षिणकाली, मातातीर्थ र भैँसे–भीमफेदी खण्ड गरी चार रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको ‘क्विक रेस्पोन्स टिम’ लाई ‘स्ट्यान्डबाई’ राखिएको छ। कुनै पनि स्थानमा नयाँ पहिरो वा अवरोध सिर्जना भएमा तत्कालै परिचालन हुनेगरी तयारी अवस्थामा रहेको उनले बताए।