दशैँको बिदापछि खुलेको शेयर बजारमा उच्च गिरावट, नेप्से ५८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४.९६ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– दशैँको लामो बिदापछि खुलेको धितो पत्र मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पहिलो कारोबार दिन उच्च गिरावट देखिएको छ।

आइतबार नेप्से परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४.९६ को विन्दुमा कायम भएको हो। यसैगरी, ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले ओरालो लागेको छ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन ३२६ कम्पनीका एक करोड तीन लाख ४५ हजार कित्ता शेयर चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। यसअघि दशैँअघिको अन्तिम कारोबार दिन दुई अर्ब ७३ करोडको मात्रै कारोबार भएको थियो।

आइतबार नेप्सेमा कारोबार भएका सबै समूहका सूचक घटेका छन्। यसमध्ये अन्य समूहको सूचक चार प्रतिशतभन्दा धेरैले घट्न पुगेको छ। यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा समूहको सूचक दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

यस दिनको कारोबारमा २३५ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १६ कम्पनीको मात्रै मूल्य बढेको छ। सर्वाधिक कमाउने कम्पनीको सूचीमा सिकलेस हाइड्रोपावर (७.७२ प्रतिशत) र थ्री स्टार हाइड्रो (६.६० प्रतिशत) रहेका छन्।

यता, लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको कम्पनीहरूमा भूगोल इनर्जी रहेको छ। यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ। यसैगरी, नेपाल रिइन्स्योरेन्स, माथिल्लो मैलुङ खोला र पन्चकन्यामाई हाइड्रोका लगानीकर्ताले क्रमशः आठ, सात र ६ प्रतिशतभन्दा धेरै मूल्य गुमाएका छन्।