‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा

उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप प्रक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

काठमाडौँ– जिल्ला प्रहरी परिसर, काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ।

मृतकका परिवारमध्ये चार/पाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।  

उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप प्रक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’
त्यस्तै, आयोगले फौजदारी कसुरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ। 

आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा आयोगबाट कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट यही असोज ९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ। 

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ।  

‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न उक्त आयोग गठन भएको थियो। आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरिसकेको छ।