क्वान्टम टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा गरेको अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

क्वान्टम टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
नोबेल पुरस्कार आउटरिच

जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा गरेको अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

नोबेल समितिका अनुसार यी तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ।

क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा, मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय तथा सान्ता बार्बरामा आफ्नो अनुसन्धान गरेका थिए।

नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भने, “शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कारहरू प्रदान गर्दै आएको छ। यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ।”

पुरस्कार जितेपछि क्लार्कले पत्रकारहरूसँग फोनमा प्रतिक्रिया व्यक्त गर्दै ने, “सामान्य शब्दमा भन्नुपर्दा यो मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य हो।”

यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो। यसअघि सोमबार मेरी ई. ब्रन्को, फ्रेड रामस्डेल र डा. शिमोन सकागुचीले कसरी मानव शरीरको प्रतिरक्षा प्रणालीले रोगजनकहरूलाई आक्रमण गर्छ र आफैँलाई पहिचान गर्छ भन्ने खोजीका लागि चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए। गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि यो पुरस्कार पाएका थिए।

त्यस्तै, बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि हुँदै जानेछ। अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिनेछ।

विजेताहरूलाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान प्रदान गरिनेछ। पुरस्कार वितरण समारोह डिसेम्बर १० मा पुरस्कारका संस्थापक तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको पुण्यतिथि मा स्विडेनमा आयोजना हुनेछ।