मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरी परिसरमा जाहेरी

जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्ध परेको जाहेरीबारे प्रहरीले सरकारी वकिलसँगको सल्लाहमा २४ घण्टाभित्र निर्णय लिने भएको छ।

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा भएका घटनालाई लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले प्रहरीसमक्ष जाहेरी दिएका छन्।

मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौँमा पुगेर उनीहरूविरुद्ध जाहेरी दिइएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए।

बडालका अनुसार, सिंहदरबारसहित सरकारी संरचनामा आगजनी तथा तोडफोड गर्नेहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्दै प्रमाणसहित जाहेरी प्रस्तुत गरिएको हो।

अनेरास्ववियु कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएकाले मुलुकको विधिको शासनको वकालत गर्दै यस्ता अराजक कार्यलाई प्रश्रय दिन नहुने भन्दै जाहेरी दिइएको बडालको भनाइ छ।

“हामीले जाहेरी दिएका छौँ,” उनले प्रहरी परिसरको भनाइ उद्धृत गर्दै भने, “सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टाभित्र निर्णय लिन्छौँ भन्नुभएको छ।”