छिमली र पट्टा नाचमा झुमे दर्शक

गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ। किनकि यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ।

तम्घास– दशैँको एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्छ। गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ। किनकि यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन विरलै हुन्छ। 

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ। मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन्। सरायबाहेकका चार प्रकारका नाच सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ। 

सराय नाचको शुरूमा गन्धर्वलाई अगाडि लगाइ बाजागाजाको धुनसँगै हतियार लिएर बिस्तारै हुँदै छिटो–छिटो गतिमा मौला वरिपरि नाचिने नाचलाई छिमली नाच भनिन्छ। कम्तीमा तीन पटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतीक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

कोतमा चौथो नाचको रूपमा पट्टा नाच नाचिन्छ। यस नाचमा दुईजना प्रतिद्वन्द्वी ढाल र तरबार लिई बाजाको तालमा नाच्ने गर्छन्। अनि झुक्क्याएजस्तो गरी एकले अर्कोलाई प्रहार गर्छन्। तर अर्को व्यक्ति भने जोगिन्छ। यस्तो प्रहार दुवैले कम्तीमा तीन–तीन पटक गर्छन्। यो देख्दा निकै डरलाग्दो देखिन्छ। यस नाचले मिल्ने साथी–साथीबीच पनि द्वन्द्व, इर्ष्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताए। 

दुवै नाच हेर्नका लागि कोतमा हजारौँ भक्तजनको भीड रहेको थियो। अन्य ठाउँमा विरलै प्रदर्शन गरिने, लोपोन्मुख नाच भएको एवं वर्षमा एकपटक मात्र प्रदर्शन गरिने भएकोले यी नाचको विशेष महत्त्व रहेको छ। स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताइन्। “धेरै सुनेको थिए, तर हेरेकी थिइन,” उनले भनिन्, “अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदो रहेछ।” आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उनले बताए। 

मालिका गाउँपालिकाबाट आएकी वसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताइन्। विगतमा एकपटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उनको भनाइ छ। “वर्षमा एकपटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ,” उनले भनिन्। 

उल्लेखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाचिएको छ। धुर्कोट दरबार अगाडिको पटागिंनीमा गोलो लाइन बनाएर दुई/दुई जनाको जोडीमा सयौँ व्यक्ति बाजा–गाजाको साथमा हातमा तरवार, खुकुरी, ढाल, खुडा, लठ्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाचिएको छ। किम्बदन्ती अनुसार १४६५ सालमा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुशीयालीमा दशैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच स्थानीय बताउँछन्। 

धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ। पालिकाले पछिल्लो समय झन्डै ५ करोड रुपैयाँभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ। 

धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, संग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए। “संघ, प्रदेश र पालिकाको गरी ५ करोडभन्दा बढीको काम गरेका छौँ,” अध्यक्ष पोखरेलले भने, “यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ।”