लिचीबारी जग्गा प्रकरणमा २ पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो।

काठमाडाैँ– पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई जना पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो।

गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले जनही ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। यस प्रकरणमा मुछिएकामध्ये मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, खेमबहादुर पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ। यस्तै, सुजनकुमार तामाङ, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध जनही ७८ लाख मागदाबी गरिएको आयोगले जनाएको छ।

गत असार २८ मा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको  ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो।

पोखरा महानगरपालिका वडा नं १६ मा रहेको दिप विर्ता (लिची बगैचा)मा रहेको भनिएको नक्सा नं २५, २६ र २८ को जग्गा दुर्गादेवी शाहको हकवालाहरू सुरज शाह ठकुरी समेतको नाममा नामसारी गराउन अदालतले फैसला गरेको थियो। त्यसैका लागि ठकुरीले मालपोत कार्यालय कास्कीमा निवेदन दिएकोमा उक्त कार्यालयका प्रमुख रामचन्द्र अधिकारीसमेतले अश्वाभाविक विलम्ब गरेको थियो। त्यसपछि यस प्रकरणमा कर्मचारीदेखि मन्त्रीसम्म जोडिन पुगेका थिए।

अदालतको फैसला अनुसार जग्गा दर्ता गरिदिनुपर्ने र त्यसका लागि आफू अनुकूलको व्यक्तिलाई कास्कीस्थित मालपोत कार्यालयको प्रमुख बनाइदिने आश्वासनमा घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा नै दिएका थिए। घटना सार्वजनिक हुँदै जाँदा त्यही कामका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि पोखराका सुजन लामासँग घुस लिएको विवरण सार्वजनिक भयो।

बिस्तारै उक्त प्रकरणमा पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि पटकपटक रकम लिएको खुल्न गयो। उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरणहरु अख्तियारमा पेश भएको थियो।

त्यो प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि ३२ लाख रुपैयाँ घुस लिएको आरोपमा मुछिएका छन्।यस्तै, तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले समेत पाँच लाख रुपैयाँ घुस लिएको र दश हजार बराबरको रक्सी र कुखुरासमेत चाहियो भन्ने विवरण सार्वजनिक भएको थियो। यी दुवै जनाको सन्दर्भमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अगाडि बढाइने आयोगका प्रवक्ता राजेन्द्रकुमार पाैडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक, सोही प्रकरणमा जोडिएका कास्की मालपोतका सुब्बा दिपक सुवेदी, अधिकृत चिरञ्जिवी पाैडेलविरुद्ध पनि छुट्टै मिसिल खडा गरी अनुसन्धान थाल्ने आयोगले तयारी गरेको छ।