टी२० विश्वकप छनोट: नेपालसँग कुवेत पराजित

नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

काठमाडौँ– आईसीसी टी२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा बुधबार राति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो। 

नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो। 

कुवेतका लागि ओपनर क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे। 

नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र रोहित पौडेलले समान २–२ विकेट लिए। कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६  बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०–२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए। 

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान २–२  विकेट लिए। मोहम्मद आकिफ फरुकले १ विकेट लिए। अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ।