गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

हमासले यस साताको अन्त्यसम्ममा जीवित रहेका सबै २० जना बन्दीलाई मुक्त गर्ने योजना बनाएको छ। इजरायली सेनाले गाजाबाट फिर्ता हुने प्रक्रिया शुरू गर्नेछ।

गाजामा दुई वर्षयता चलिरहेको युद्ध अन्त्य गर्न इजरायल र हमास सहमत भएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा केही दिनयता चलिरहेको शान्ति वार्तामा यद्धविराम गर्ने तथा केही बन्दी र कैदीलाई मुक्त गर्ने सहमति जुटेको हो। दुई वर्षदेखि जारी युद्धमा यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रगति भएको समाचार संस्था एपीले उल्लेख गरेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै बन्दीहरू छिट्टै मुक्त हुने र इजरायलले आफ्ना सेना फिर्ता बोलाउने जनाएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भगवान्‌को सहयोगले सबैलाई घर फर्काउने प्रतिक्रिया दिएका छन्। 

हमासले पनि यस सम्झौतामा आफूले सहमति जनाएको उल्लेख गरेको छ। यसले गाजामा युद्धको अन्त्य, इजरायली सेनाको फिर्ती, गाजामा राहत सहायता प्रवेश र बन्दी तथा कैदीहरूको अदलाबदल सुनिश्चित गर्ने हमासको विश्वास छ।

सम्झौताका सबै प्रावधान इजरायलले ढिला नगरी कार्यान्वयन गर्ने सुनिश्चितता गर्न हमासले ट्रम्प र अन्य मध्यस्थकर्तासमक्ष आग्रहसमेत गरेको छ। 

एपीका अनुसार, हमासले यस साताको अन्त्यसम्ममा जीवित रहेका सबै २० जना बन्दीलाई मुक्त गर्ने योजना बनाएको छ। इजरायली सेनाले गाजाको अधिकांश भागबाट फिर्ता हुने प्रक्रिया शुरू गर्नेछ।