बीपी राजमार्ग: पहिरोले बगाएको स्थानमा कुन सडक प्रयोग गर्ने?

तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनले पहिरोले बगाएको स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन्।

मन्थली– असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ। 

तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन्। यहाँ खुर्कोट-मन्थली-चरिकोट- मुडे- खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको हो। 

सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौँ पठाउने र उताबाट आउने सवारी साधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ। 

बीपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए। 

दशैँ मनाएर आआफ्नो कार्य क्षेत्र फर्किने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उनले बताए।