पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान चलाइने

परिवार कल्याण महाशाखाका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

फाइल तस्वीर

काठमाडौँ– पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लामा फैलिएको हैजाको महामारी र हालैको बाढीपछि सिर्जना भएको उच्च जोखिमलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिने भएको हो।

गत भदौ ६ मा पर्साको वीरगन्ज महानगरपालिका–१२ को मुरली टोलबाट देखिएको हैजाले हालसम्म पर्सा र बारामा एक हजार ६८५ बिरामी भएका छन्।

‘हैजा रोगविरुद्धको प्रतिकार्य खोप अभियान, २०८२’का बारेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले खोप अभियान असोज–कात्तिक महिनामा सञ्चालन हुने जानकारी दिए।

खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पर्सा र बारामा १० लाख १८ हजार १०० मात्रा खोप पठाउने तयारी गरेको छ।

निर्देशक लालका अनुसार, प्रतिकार्य स्वरूप सञ्चालन गरिन लागेको यो खोप अभियानको क्रममा एक वर्षभन्दा माथिका सबैलाई एक पटक मात्र दिइनेछ। मुखबाट खुवाइने यो सुरक्षित खोप गर्भवती र स्तनपान गराई रहेका महिलाहरूलाई समेत दिन सकिने महाशाखाले स्पष्ट पारेको छ।