गुडिरहेको बसबाट खसेर सिरहामा सहचालकको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–९, जिरोमाइलनजिकै गुडिरहेको बसबाट खसेर घाइते भएका सहचालकको उपचारका क्रममा मृत्यु भएको छ।

सिरहा– धनगढीमाई नगरपालिका–९, जिरोमाइल नजिकै बिहीबार बिहान गुडिरहेको बसबाट खसेका सहचालकको उपचारका क्रममा मृत्यु भएको छ। मृतक लहान नगरपालिका–१ का २१ वर्षीय पवनकुमार यादव रहेको प्रहरीले जनाएको छ।

उनी पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट खसेर गम्भीर घाइते भएका थिए। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालका अनुसार, बसको पछाडिको चक्काले किचिएका यादवलाई तत्काल उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, दिउँसो १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी पालले जानकारी दिए।