विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ।

काठमाडौँ– मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ। 

मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो।  

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ। 

राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ। 

‘मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सबै सदस्य राष्ट्रसँग आग्रह गरेको छ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको मन्त्रालयले जनाएको छ।

मानसिक स्वास्थ्यमा सचेतना तुलनात्मक रूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमा पनि मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एक तिहाइले कम गर्ने उल्लेख छ।