हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी

सूचीमा रहेका ४८ जनामध्ये जीवित रहेको भनिएका २० जना, मृत्यु भएको भनिएका २६ जना र अवस्था अज्ञात भनिएका दुई जना रहेका छन्।

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
एएफपी

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएसँगै हमासले मुक्त गराउन लागेका २० जना जीवित रहेको भनिएका बन्धकको नामावली सार्वजनिक भएको छ। 

उक्त नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। विपिनको अवस्था अज्ञात रहेको उक्त सूचीमा जनाइएको छ। 

‘होस्टेज एन्ड मिसिङ फेमिली फोरम’लाई उद्धृत गर्दै सीएनएनले सार्वजनिक गरेको सूचीमा रहेका ४८ जनामध्ये जीवित मानिएका २० जना, मृत्यु भएको भनिएका २६ जना र अवस्था अज्ञात भनिएका दुई जना रहेका छन्। 

युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सबै बन्धकहरूलाई सोमबारसम्ममा रिहा गर्ने तयारी छ। 

जीवित रहेको विश्वास गरिएका बन्धकहरू सबै पुरुष हुन्। एक जना बाहेक सबै २० देखि ४० वर्षबीचमा रहेका छन्। महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई अघिल्लो युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको थियो।