तेह्रथुम साबला गाउँबाट उठेर

तेह्रथुमको साबला गाउँमा एक जना जमिनदार लिम्बूको शरण परेर उनकै संरक्षण-स्नेहमा हुर्केका कालु उप्रेतीको छोरीपट्टिको म पाँचौँ पुस्ताको सन्तान हुँ।

यस लेखमा आफ्नो र आफूले गर्ने कामको विषयमा छोटकरीमा केही लेख्ने प्रयास गरिएको छ। त्यसो गर्नु सहज देखिए पनि यो निकै चुनौतीपूर्ण कर्म हो।

मूलतः मेरा आलम्बनका केही चरित्र छन्; ती हुन्-साहित्य लेखन, शिक्षण, अनि सांस्कृतिक र सामाजिक विषयमाथि लेखन र छलफल। यी प्रत्येक कर्म मैले साधारण रूपमा गरिआएको छु। यी प्रत्येक कर्मको आधार भनेको संवाद हो। लेखेर प्रस्तुत गर्नु पनि संवाद हो। यो एउटा भाषाशास्त्रीय र दार्शनिक विषय पनि हो। आफूले लेखेका कुराहरू सांवादिक रचना हुन्। संवाद हुन नसकेको ठाउँमा ती आत्मस्विकृति हुन्छन्। एकल अभ्यास पनि हुन्छन्।

मैले काम गरेको लामो समयका चरित्रहरू फरक फरक थिए र छन्। त्यो कालभित्र नेपाली र वैश्विक राजनीतिक प्रणालीहरूमा परिवर्तन भए। मैले कुनै एक चरित्र र विचारलाई कहिल्यै आधार राखिनँ। मैले मात्र होइन, मेरो उमेर र कान्छा पुस्ताका मानिसहरूले एकल विचार र प्रणाली अनि बहुल विचार र प्रणालीको अभ्यास गरिआउनुभएको छ। आफूतिर फर्केर हेरेपछि अनि आफ्ना कर्मको समीक्षा गरेपछि त्यो कुरा खुलिहाल्छ। म यहाँ आफूले गरेका काम अनि आफ्नो जीवनयात्राको विषयमा एकदमै संक्षिप्त रूपमा प्रसङ्ग राख्न चाहन्छु। साहित्य लेखन र आफ्नो जीवनको विषयबाट सुरु गर्न चाहन्छु।

आफ्ना कालिक अनुभव अनि घटनाहरूतिर फर्किएर लेख्नु साहित्यको मूल आधार हो। त्यो स्थिर हुँदैन र लेख्नेले आफूले सोचेका कुरा लेखिसकेँ वा भनिसकेँ भन्ने कुनै निश्चित आधार हुँदैन। एउटा बाटो लिएर मेरो यही हो, यत्ति हो अनि मैले जगत् र जीवन हेर्ने तरिका यत्ति मात्रै हो भन्न सक्ने कुराका पनि आफ्नो विषयमा लेख्नेहरूले समाउने आधार हुँदैनन्। सिर्जना गर्नेका अप्ठ्यारा बाटा हुन्छन्। ती अभ्यासहरूलाई प्रसिद्ध फ्रान्सेली अस्तित्ववादी लेखक अल्बर्ट कामु (सन् १९१३–१९६०) ले 'खतरनाक कर्म' भने। उनले रेजिस्टेन्स, रिबेलियन एन्ड डेथ (सन् १९६१) भन्ने किताबमा भने, “आज सबै कुरामा परिवर्तन आएको छ। मौनताका पनि खतरनाक अर्थ लाग्छन् आजकाल। अनि आज सिर्जना पनि खतरनाक रूपबाट गर्नुपर्छ।”

कलाकार र चिन्तक बालकृष्ण सम (संवत् १९५९–२०३८) आफ्नो आत्मकथा मेरो कविताको आराधन (संवत् २०२३, २०२९) मा भन्छन्- "लेख्नु एउटा उपासना हो जसमा जीवन र लेखन कर्मबारे ठोकुवा गरेर भन्ने आधार हुँदैनन्।"

लेखक विश्वेश्वरप्रसाद कोइराला (संवत् १९७१–२०३९) को आत्मवृत्तान्त सिर्जनशील कर्म र राजनीतिक आलम्बनका भेट्ने र छुट्टिने विषयको कथा हो। तर मजस्तो साधारण कर्म गर्ने र लेख्ने अनि म जस्तै कर्म गर्नेका अनुभवमा निकै समानता हुन्छ अनि, ती अलग-अलग चरित्रका हुन्छन्। त्यो आफैले भन्नुपर्छ, त्यसो त अरूले पनि भन्छन्। तर यहाँ म मेरो अनुभव भन्न लागेको छु। मेरा लेख्ने कर्ममा पनि कामुले भनेजस्तै खतरनाक र समले भनेजस्ता उपासनाका अनुभव छन्। अनि विश्वेश्वरप्रसाद कोइरालाका जस्ता त्यहाँ अलग-अलग आलम्बनका द्वन्द्व छन्।

एकातिर आफ्नो सिर्जनाको चुनौती छ भने अर्कोतिर आफूले वरण गरेका प्राज्ञिक, साहित्यिक, कलात्मक, रङ्गमञ्चीय, वैचारिक, सांस्कृतिक अनि प्रकारान्तरले अथवा विश्व दृष्टिको हिसाबले अनुभव गरिएका राजनीतिक द्वन्द्वका कथाहरू छन्। तिनको विषयमा संक्षिप्त रूपमा उठानसम्म गर्ने मेरो उद्देश्य हो।

यात्रा एउटा रूपक हो जसलाई म यहाँ आफ्नो जीवनसँग जोडन चाहन्छु। यो सबैको अनुभवको विषय हो जसलाई आफ्ना जीवनसँग जोडेर हेरे प्रस्ट हुन्छ। यात्रा उक्तिमात्र नभएर मेरो निम्ति जीवनको यथार्थ हो। पूर्वी नेपाल लिम्बुवान तेहथुमको साबला गाउँमा जन्मेर अनि त्यहीँ आरम्भिक शिक्षा लिई हुर्के बढेको मेरो जीवनमा आमा र महिलाको ठूलो प्रभाव छ।

***
यात्राको कुरा गर्दा मेरी आमा र छ पुस्ता पहिलेकी मावलीतिरकी जिजु हजुरआमाको यात्रा मेरो जीवनमा पुनरावृत्तीय अथवा आर्केटाइपल विषय हुन्। आमाले नबिर्सिनु भनेर भन्नु भएको एउटा कथा छ। काभ्रे जिल्लाको अमुक उप्रेती परिवारमा एक जना युवकको मृत्यु भयो। तिनका दुई नाबालक छोरा र छोरी थिए। ती महिलालाई सती जलाउने कुरा भयो। तर केही महान् व्यक्तिहरूले तिनलाई ती बालबच्चासहित भगाएर कैयौँ हप्ता हिँडाएर लिम्बुवानको आठराई इवामा पुऱ्याई एक जना जमिनदार लिम्बुको शरणमा छाडेर फर्के। तिनको संरक्षण र स्नेहमा हुर्केका कालु उप्रेतीको छोरी पट्टिको म पाँचौँ पुस्ताको सन्तान हूँ।

मेरी आमा रमा सुवेदीको अर्को यात्रा भयो। राणा शासनमा सुदूरपूर्वी पहाडी क्षेत्रको प्रशासकमा नियुक्ति भएका ४६ वर्षका मेरा पिताजी भाष्करसँग उहाँ उहाँ दश वर्ष हुँदाताक बिहे भयो। त्यो राणाकाल थियो। पिताले आफ्नो लेखपढको काममा मद्दत होला भनेर मेरी आमालाई घरमा गुरु राखेर शिक्षा दिनुभयो र त्यही क्रममा आमाले नेपाली, बङ्गाली, केही संस्कृत भाषा सिक्नुभयो। त्यसैले म अहिले बङ्गालीका किताब पढ्छु तर लेख्न जान्दिनँ।

ती आमाहरूका अनौठा यात्रा मेरो मानसमा र लेखनमा बसेका छन्। नाबालक हुँदै पिता गुमाएको मैले लेखेका नाटकहरूमा नारी मूल पात्र भएर आएका छन्। तिनका अनेकौँ अवतार छन्—भिक्षुणी, ऐतिहासिक भृकुटी, अनि माओवादी युद्ध कालमा जीवन भोगेका महिलाहरू छन् मेरा नाटकमा। यात्रा र नारी मेरो स्मृतिका पुनरावृत्तीय चरित्र हुन्। अहिले पत्नी बिन्दुले पनि यात्रा साहित्य नै लेखेको देखेर मलाई कहिलेकाहीँ मेरो जीवन नारीहरूले बहुल रङ्ग, रेखा र टेक्स्चर गरेर बनाएको एक चित्रकला हो कि जस्तो लाग्छ।

आफ्नो विषयमा लेख्नु चुनौतीपूर्ण कर्म हो। मेरो जीवनको कथा लेख्न मलाई एक जना प्रकाशक भाइले लगाउनु भएको छ। लेख्तै छु, तर यो आफूले सोचेभन्दा अलिक जटिल लागेकाले काम अलिक ढिलो भएको छ। पहिले सोचेको थिएँ-यो त एकदमै सजिलो कर्म हो। तर जब आफ्नै जीवन झरीजस्तो बर्सिन थाल्छ, जब जीवन आकाश र पहाड छोएर इन्द्रेनीजस्तो सात रङ्गमा टाँगिन्छ र जसलाई देखेर अंग्रेजी कवि विलियम वर्डस्वर्थलाई यसो भन्ने प्रेरणा हुन्छ—"बालक नै मानिसको बाउ हो।" त्यस बेला थाहा हुन्छ, आफ्नो विषयमा लेख्नु एउटा निकै राम्रो तर चुनौतीपूर्ण कर्म हो।

यो छोटो संवाद प्रस्तुत गरिरहँदा मलाई परेको समस्याका पाटा त्यस्तै हुन्। अगाडि नै भनेँ "आफूले वरण गरेका प्राज्ञिक, साहित्यिक, कलात्मक, रङ्गमञ्चीय अनि वैचारिक, सांस्कृतिक अनि प्रकारान्तरले वा विश्व दृष्टिको हिसाबले अनुभव गरिएका राजनीतिक द्वन्द्वका कथा" छन् मेरा।

***
मेरो मुख्य कर्म प्राज्ञिक हो। अंग्रेजी भाषा, साहित्यको शिक्षा ग्रहण गर्ने अनि पढाउने कर्ममा मेरो जीवनका दशकौँ बितेका छन्। विश्वविद्यालयमा अंग्रेजी विषयमा शिक्षक भएर काम गरेको आधा शताब्दीभन्दा धेरै भएछ। यस क्रममा आफूले पढाएका विद्यार्थीहरू राष्ट्रिय जीवनका अनेकौँ मोडहरूमा भेट्छु, अनेकौँ क्षेत्रमा भेट्छु।

मैले शिक्षा ग्रहण गर्ने क्रममा नेपाली शैक्षिक संस्थाहरूमा अनेकौँ महत्त्वपूर्ण समय बिताएँ। ब्रिटेनको विश्वविद्यालयमा सुख र दुःख दुवै भोगेँ। यी कुरा अनेकौँ अवसरमा लेखेको छु। तर आफ्नो मूल लक्ष्य शिक्षा ग्रहण भएकाले ती सबै अनुभव सार्थक भएको मान्छु।

मेरो जीवनको अर्को पक्ष भनेको दुई आलम्बनको शाश्वत अभ्यास हो। म नेपाली साहित्यको लेखक हुँ। मेरो साधना र कर्ममा पाश्चात्य खासगरी आइल साहित्यको प्रयोग र अनुशीलन रह्यो।

मैले साहित्य लेखनमा अनेकौँ विधाका प्रयोग गरेँ। कुन विधामा रचना गर्ने भन्ने कुरा रचनामा अर्थ र सिर्जनाको संगम कसरी गराउने भन्ने कुराले निर्धारित गर्छ। निबन्ध यो कुराको विमर्श गर्ने राम्रो विधा हो। निबन्ध लेखेँ। अनि अर्को विधा कविता हो। नेपालीमा कविता लेखेँ, अंग्रेजी भाषामा पनि लेखेँ। ती कवितामा मेरा अनेकौँ समय र ठाउँका चित्रण छन्। संकलन निस्केका छन्।

एउटा 'काठमाडौँ ओडिसी' अथवा 'काठमाडौँ महायात्रा'  काव्य-नाटक भएको छ जसलाई प्रतिभाशाली निर्देशक र कलाकारहरूले मञ्चमा प्रस्तुत गर्दा मलाई लागेको थियो—मेरो नेपाल मण्डलमा भएको जीवन यात्रामा भाषा, बिम्ब, कला र वास्तुकला चेतना छ।

अंग्रेजी भाषामा पनि निकै लेखेछु—साहित्य चिन्तन र विचार जोड्ने लेख र सेमिनार लेखहरू। ती नेपाल र विश्वका अनेकौँ ठाउँमा भएका नाट्य र साहित्य सेमिनारमा प्रस्तुत लेख र मीमांसा हुन्। अंग्रेजी विभागका विद्वान् शिक्षक र पूर्व विद्यार्थीहरू तिनका संकलन गर्दैछन्। मेरा निम्ति एउटा महत्त्वपूर्ण कथा हो यो।

नेपाली साहित्य बाहिर चिनाउन र बाहिरको साहित्य नेपालमा परिचित गराउनु पर्छ भन्ने उद्देश्यले अंग्रेजी र नेपालीमा अनुवाद गरेँ। त्यो एउटा क्रम हो, चल्दै छ- धेरै काल भएछ।

समालोचना निकै लेखेँ। कहिले कहिले लेखेँ त्यो हेर्नुपर्छ। युवक हुँदादेखि लेखेँ। लेखक इन्द्रबहादुर राई दाइले भाषणमा भने, "हाम्रो आयामेली लेखनलाई नेपालमा चिनाउने त अभि भाई हो नि।" झसङ्ग भएको थिएँ त्यस्तो जटिल कामको जिम्मेवारी थाहै नपाई पाएको सुनेर।

फ्रान्सेली लेखक र दार्शनिक झैं पोल सार्त्रको म निकै उपासक। तिनले लेखेको आत्मकथा शब्दहरू वा ले मो बाट प्रेरित भएको मानिस हूँ। तिनले त्यसमा लेखेका छन्, "म शक्तिको खोज गर्थेँ लेखनमा। समालोचनामा त्यो शक्ति हुनेरहेछ।" उनले कारण दिएका छन्। मलाई त्यसले समात्यो अनि म पनि अरू विधा छोडेर समालोचना लेख्न थालें। सार्त्रले भनेको हो रहेछ।

मैले निकै समालोचना लेखेँ। त्यसले मलाई आफ्नो बनायो। अहिले पनि लेख्दै छु। समालोचना कस्तो लेखियो, नेपालमा को-को भए समालोचक भन्ने कुरा प्राज्ञिक विषय हो। अनि अहिले समालोचनाको अवस्था र पहिचान कस्तो छ भन्ने कुरा लिएर उच्च तहका विद्यार्थी र साधकहरूसँग छलफल गरिबस्छु। समालोचनाको समय सकियो कि छ भन्ने कुरा अर्कै हो। तर मलाई समालोचना विधाले साहित्यलाई राजनीतिक संकथन र सांस्कृतिक अध्ययन—'कल्चरल स्टडिज्'को अर्थमा लिएर लेख्न मद्दत गऱ्यो। पहिलेका र अलिक पछिका केही समालोचकहरू यस समालोचना विधामा ठाडै राजनीति ठोक्थे। समालोचना सिर्जना र यथार्थिक चेतना वा ज्ञान जोड्ने लेखन विधा हो।

म साहित्य लेखनलाई एक बहुपक्षीय साधना मान्छु। त्यसैले म चित्रकलाको विषयतिर पनि खिचिएँ। मलाई साहित्य र कलाका मीमांसा मन पर्छ। त्यस क्रममा चित्रकला र यसको विषयमाथि निकै समीक्षा लेखेको छु। म यस्तो संचेतनालाई महत्त्वपूर्ण मान्छु। नेपाली समीक्षा र साहित्य चिन्तनमा चित्रकलाको सम्बन्ध र यसको महत्त्व देखाउँदै इन्द्रबहादुर राईले समीक्षात्मक लेखहरू लेखेका छन्। लैनसिंह बाङ्गदेल, अनि पहिले नै बालकृष्ण समले चित्रकलाको विषयमा राम्रा समीक्षा गरेका छन्। म खासगरी मोडर्निस्ट वा पछिल्ला आधुनिक काव्यसँग आधुनिक चित्रकलालाई जोडेर हेर्छु।

म सन् २००३ देखि नाट्यरङ्गमञ्चमा लागेँ। नेपालको इतिहासमा त्यो एउटा अत्यन्त संवेदनशील र महत्त्वपूर्ण काल थियो। मलाई लाग्यो, नाटक लेखेर यसलाई दर्शकसामु लानु पर्छ। निर्देशक सुनिल पोखरेलले सुरुमा प्रेरणा दिए। मेरो बालकृष्ण समजीसँगको लामो सम्बन्ध र उनको प्रभाव जागरूक भयो। देशमा लागिरहेको आगो विषय भयो, अग्निको कथा नाटक लेखेँ। सुनिल पोखरेलले त्यही नाटक मञ्चन गरेर गुरुकुल नाटक घर उद्घाटन गरे। सुनिलको आधुनिक रङ्गमञ्चको कर्ममा लेखक भएर प्रवेश गरेँ। मैले इतिहासका द्वन्द्वका विविध पक्ष समातेर नाटक लेखेँ। यो बहुआयामिक विधा हो। यसमा लेखन कला, चित्रकला, संगीत, वास्तुकला र प्रस्तुति कलाको भयानक मिलन हुन्छ।

म राजनीतिलाई सांस्कृतिक अध्ययनको विषय ठान्छु। राजनीतिज्ञहरू र त्यसका स्वदेशी र विदेशी विद्वानहरूका कामसँग आफ्नै किसिमले परिचित छु। तर राजनीतिका गति ठाडा र तेर्सा अथवा 'भर्टिकल' र “होराइजन्टल्” दुवै हुन्छन्। ठाडो भनेको इतिहास हो। मलाई हेडन ह्वाइटको 'साहित्य र इतिहासको अन्तरङ्ग सम्बन्ध हुन्छ' भन्ने सिद्धान्त मन पर्छ। विश्वेश्वरप्रसाद कोइरालाले इतिहास र साहित्यको सम्बन्धलाई राजनीति र अराजकताको किञ्चित जटिल सम्बन्धबाट व्याख्या गरे। मैले राजनीतिलाई हेर्ने दृष्टिकोण मानिसको स्वतन्त्रता, अधिकार र प्रतिष्ठाबाट अनि राजनीति गर्नेका इमानदारितासँग जोडिएको छ। अहिले विश्वमा तिनै कुरामा चुनौती आएका छन्। मानिसका विजय र कन्तबिजोकका कथा समानान्तर छन्। एक साहित्य, कला—संस्कृतिको उपासक भएको हुनाले म मान्छे र उसको सिर्जनाले जित्छ भन्ने विश्वास लिन्छु।

(खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट गत मंगलबार पद्मश्री गौरव पुरस्कार ग्रहण गर्दा लेखक सुवेदीले दिएको कृतज्ञता अभिव्यक्ति।)

शरण, संरक्षण र स्नेह लिने लिम्बुको नाम थाहाँ रहेनछ। एक जना कुनै लिम्बु जम्न्दार रहेछ।

Nagendra Budhathoki

1 month, 1 week ago

शरण, संरक्षण र स्नेह दिने लिम्बुको नाम थाहा नरहेछ।

Nagendra Budhathoki

1 month, 1 week ago