काठमाडौँमा र्‍याली तथा सभा गर्न प्रशासनले स्वीकृति नदिने

काठमाडौँ प्रशासनले विभिन्न समूहबाट आयोजना गरिने र्‍याली तथा सभाजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउने, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने कार्यमा थप जटिलता सिर्जना गर्ने निष्कर्ष निकाल्दै स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको जनाएको छ।

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले शनिबार राजधानीमा हुने भनिएका मोटरसाइकल र्‍याली तथा सभाहरूलाई पूर्वस्वीकृति नदिने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले फरक–फरक समूहले आयोजना गर्न लागेका प्रदर्शन तथा सभालाई सुरक्षा चुनौतीका कारण अनुमति नदिने स्पष्ट पारेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा तथा त्यसपछिका दिनमा भएका तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिलाई स्मरण गरिएको छ। प्रशासनले त्यस्ता गतिविधिले शान्ति सुरक्षा कायम राख्ने र सेवा प्रवाह सुचारु गर्ने कार्यमा थप जटिलता ल्याउने निष्कर्ष निकालेको छ।

“र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,” सूचनामा भनिएको छ।

प्रशासनले पूर्वस्वीकृति नलिई कुनै पनि प्रकारका कार्यक्रम नगर्न वा नगराउनु हुन स्थानीय प्रशासन ऐन, २०२८ र प्रहरी ऐन, २०१२ को व्यवस्थाबमोजिम यो सूचना जारी गरिएको उल्लेख गरेको छ।