भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिनालाई नोबेल शान्ति पुरस्कार

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै भागहरूमा भएका युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको हकदार दाबी गर्दै आएका थिए।

काठमाडाैँ– २०२५ को लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गर्ने निर्णय भएको छ।

उनले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रको लागि लडेकोमा शान्ति पुरस्कार प्रदान गरिएको नोबेल समितिले जनाएको छ। आइरन लेडीको रूपमा पनि चिनिने माचाडोलाई टाइम पत्रिकाको २०२५ का १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि राखेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै पटक आफूलाई नोबेल शान्ति पुरस्कारको दाबेदार घोषणा गरिसकेकाले यसलाई निकै चासोका साथ हेरिएको थियो। ट्रम्पले विश्वका धेरै भागहरूमा भएका युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको भन्दै नोबेल शान्ति पुरस्कारको हकदार दाबी गर्दै आएका थिए। हालै उनले गाजामा हमास र इजरायलबीच पहिलो चरणको युद्धविरामको घोषणा पनि गरेका छन्। यसअघि गत मे महिनामा भारत-पाकिस्तानबीचको युद्ध अन्त्य गर्न आफूले भूमिका खेलेको दाबी गरेका छन्।

नोबेल समितिले आफ्नो विज्ञप्तिमा भनेको छ, "२०२५ को नोबेल शान्ति पुरस्कार 'गहिरिँदै गएको अन्धकारको बीचमा प्रजातन्त्रको ज्वाला बालिरहेकी महिला'लाई दिइनेछ।"

समितिले मारिया कोरिना मचाडोलाई हालैका समयमा ल्याटिन अमेरिकामा साहसको सबैभन्दा 'असाधारण उदाहरण'मध्ये एक भएको जनाएको छ। "लोकतन्त्र खतरामा परेको बेला, यसको रक्षा गर्नु अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण हुन्छ," विज्ञप्तिमा भनिएको छ।

पत्रकारले नोबेल शान्ति समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसलाई डोनाल्ड ट्रम्पलाई पुरस्कार दिन उनी स्वयं र अन्य अन्तर्राष्ट्रिय समुदायबाट दबाब थियो कि थिएन र यो दबाबले समितिको छलफललाई प्रभाव पारेको थियो कि थिएन भनेर प्रश्न सोधेका थिए। त्यस प्रश्नको जवाफ दिँदै फ्राइडनेसले भनेका छन्, "नोबेल शान्ति पुरस्कारको लामो इतिहासमा समितिले अभियानहरू र 'मिडियाको ध्यान' देखेको छ र समितिले हरेक वर्ष मानिसहरूबाट हजारौं पत्रहरू प्राप्त गर्दछ जसमा उनीहरूले 'शान्तिको मार्गको लागि' के गरेका छन् भनेर बताएका हुन्छन्।"

"यद्यपि, हामी हाम्रा निर्णयहरू अल्फ्रेड नोबेलको काम र इच्छामा आधारित गर्छौं," फ्राइडनेसले भने।