जापानमा विदेशी बासिन्दाको संख्या ४० लाखनजिक

हाल जापानको कुल जनसंख्याको ३.२१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्।

जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या हालसम्मकै उच्चस्तरमा पुगेको छ। देशमा श्रम शक्तिको अभावलाई सम्बोधन गर्न पछिल्ला वर्षहरूमा विदेशी कामदारलाई ठूलो संख्यामा स्वीकार गरिएका कारण यो वृद्धि भएको हो।

सरकारी तथ्यांकअनुसार सन् २०२५ को जुनको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाको संख्या ३९ लाख ५६ हजार पुगेको छ। यो संख्या लगभग ४० लाखनजिक हो।

अध्यागमन सेवा एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या सन् २०२४ को अन्त्यको तुलनामा करिब पाँच प्रतिशत (अर्थात् १ लाख ८७ हजार)ले वृद्धि भएको हो। हाल जापानको कुल जनसंख्याको ३.२१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्।

आवासीय स्थितिको आधारमा हेर्दा, स्थायी बासिन्दाको संख्या सबैभन्दा ठूलो समूहको रूपमा रहेको छ। यो संख्या १.५ प्रतिशतले बढ्दै ९ लाख ३२ हजार ९० पुगेको छ।

त्यसपछि इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञ (दोभासे र अन्य पेसागत कामदारसमेत)को भिसा कोटीमा रहेका व्यक्तिको संख्यामा सबैभन्दा बढी ९.४ प्रतिशतले वृद्धि भएको छ। यो संख्या ४ लाख ५८ हजार १०९ पुगेको छ।

अध्यागमन एजेन्सीका अनुसार हालको वृद्धिदर निरन्तर कायम रहँदा सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाको संख्या करिब ४१ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ।

यसै अवधिमा सन् २०२५ को पहिलो अर्धवार्षिकमा जापानमा प्रवेश गर्ने विदेशी आगन्तुकहरूको संख्यासमेत तीव्र रूपमा बढेको छ। यो संख्या दुई करोड १३ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो। एजेन्सीको अनुमानअनुसार यस वर्षभर जापान प्रवेश गर्ने विदेशीको कुल संख्या करिब चार करोड ५० लाख पुग्ने सम्भावना रहेको छ।