नेपालबाट १३५ दिनमा बाहिरियो मनसुन

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यो वर्ष ८ दिन ढिलो गरी बाहिरिएको छ।

काठमाडौँ– यस वर्षको मनसुन आज शुक्रबारबाट नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। सरदर मितिभन्दा १५ दिन छिटो प्रवेश गरेको मनसुन ८ दिन ढिलो गरी बहिर्गमन भएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यो वर्ष ढिलो बाहिरिएको हो। यस वर्ष मनसुन प्रवेशको र बहिर्गमनको तथ्यांक हेर्दा यो अवधि १३५ दिन लामो समयसम्म टिकेको देखिन्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि यस वर्ष मे २९ मै मनसुन भित्रिएको थियो।

मनसुन बहिर्गमनको शुरूआत भने असोज २० गतेबाट भएको थियो। यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भूभागका धेरै स्थान र गण्डकीको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिन शुरू भएको थियो।

विभागले मनसुनका चार महिनामा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको थियो।

मनसुन बाहिरिनुभन्दा केही समयअघि परेको भीषण वर्षाले भने देशका विभिन्न भागमा ठूलो क्षति पुर्‍याएको छ। मनसुनी वायु, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणाली को प्रभावका कारण असोज १७, १८ र १९ गते भारी वर्षा भएको थियो।

उक्त बाढीपहिरोमा परेर इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ। वर्षाले इलामको जनजीवन मात्रै होइन, पूर्वाधारमा पनि गम्भीर क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएअनुसार, बाढीले इलामका साना-ठूला गरी १५ वटा जलविद्युत् आयोजना समेत प्रभावित भएका छन्।

विभागले नेपालबाट मनसुनको बहिर्गमन भए तापनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने रहन सक्ने जनाएको छ।