कांग्रेसले राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रस्ट्याएका हुन्। "हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ", उनले भने।

कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको खबर बारिरिएको थियो। उनले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको बताए।  

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेबारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारीसमेत दिए। आफूहरू अहिले पार्टी संसदीय दलको शनिबार बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उनको भनाइ थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल शुरू गरिएको बताए।