देश, लोकतन्त्र र संविधान रक्षार्थ निर्वाचनमा लाग्न दलहरूलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आह्वान गरिएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले उक्त आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिए। उनले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिए।

राष्ट्रपतिको सचिवालयका अनुसार, राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह पनि राष्ट्रपति पौडेलले आग्रह गरे। उनले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने सोच्न पनि अनुरोध गरे।

त्यस्तै, बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताइन्। उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएका थिइन्।

आगामी फागुन २१ गतेका लागि तय निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले शुक्रबारले शीतल निवासमा सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू सहभागी थिए।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल बैठकमा सहभागी रहेका थिए।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट सुनिल प्रजापति, तथा जनता समाजवादी पार्ट (जसपा) नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी सहभागी थिए।