१९ स्थानमा डाइभर्सन बनाएर खुलाइयो बीपी राजमार्ग

बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरेर सवारी सञ्चालनमा ल्याइएको छ।

काभ्रेपलान्चोक– बाढीले क्षतिग्रस्त बीपी राजमार्ग १९ स्थानमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ। 

शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्रयाक खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएको थियो। 

शुक्रबार साँझसम्ममा नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ट्रयाक खोली सकेर परीक्षण गरिएको थियो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण गरिएको जानकारी दिए।

कार्यालयले उक्त राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो। काभ्रेपलान्चोकको सडकखण्डमा खोला फर्काएर डाइभर्सन निर्माण भएको हो। “ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्‍यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर आज बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ,” योगेशले भने। रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो। 

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्। कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो।