अस्थायी डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधनको चाप

रोशीखोलाको बाढीले बगाएको सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।

रामेछाप– रोशीखोलाको बाढीले बगाएको सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। बागमती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने यो राजमार्ग अस्थायी डाइभर्सन निर्माणसँगै शुक्रबार साँझबाट यातायात पुनः सञ्चालनमा आएको हो।

गत असोज १७ गते रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण बीपी राजमार्गको काभ्रे खण्डमा चौकीडाँडादेवी माम्तीसम्म १४ भन्दा बढी स्थानमा र सिन्धुली खण्डको नेपालथोकदेखि वर्षेखोलासम्म दुई ठाउँमा क्षति पुगेको थियो। रोशीखोला खण्डमा करिब पाँच किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याएपछि असोज १७ गते साँझदेखि यातायात अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय भक्तपुर र खाल्टे सिन्धुली, सडक विभाग तथा निर्माणको जिम्मा लिएका कम्पनीको प्राविधिक टिम र उपकरणले लगातार एक हप्ताको प्रयासपछि बाढीले क्षति पुर्‍याएको सडकमा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात पुनः सञ्चालनमा ल्याएका हुन्।

काठमाडौँबाट पूर्व जाने दैनिक सयौँ सवारीसाधन गुड्ने बीपी राजमार्गमा क्षति पुगेपछि दशैँपछि काठमाडौँ फर्कने यात्रुहरूले निकै सास्ती भोगेका थिए।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वका सिन्धुली, रामेछापलगायत कोशी तथा मधेश प्रदेशका केही जिल्ला आउजाउ गर्ने यात्रुले सिन्धुलीको खुर्कोटबाट रामेछाप हुँदै दोलखा पुगेर अरनिको राजमार्ग निस्किएर वा पूर्व–पश्चिम राजमार्गको हेटौँडा र नारायणघाट हुँदै मुग्लिनको बाटो घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता थियो। सडक बनेपछि स्थानीयलाई काठमाडौँ आउजाउ गर्न सहज भएको छ।