विभागबाट पशुपक्षीका लागि फिड सप्लिमेन्ट, प्रोवायोटिक्स र मिनरलजस्ता सीमित वस्तु आयात गर्न सिफारिस पाएको कान्तिपुर भेटले उक्त विवरण किर्ते गरेर गैरकानूनी रूपमा नेपालमा दर्ता नभएका औषधि भित्र्याएको भेटिएको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी लिखतसम्बन्धी कसुरमा ‘कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालि’की सञ्चालक अध्यक्ष सुना सुवेदी (सुनिता बडाल सुवेदी)लाई पक्राउ गरेको छ।
सर्लाही, साबिक ईश्वरपुर गाविस ४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–३१, शंखमूल बस्ने सुवेदीलाई ब्यूरोको टोलीले शुक्रबार शंखमूलबाट नियन्त्रणमा लिएको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयमा सुनिताको नाममा दर्ता भए पनि कम्पनीका सञ्चालक भने उनका श्रीमान् ऋषि (हेमराज) बडाल हुन्। ऋषि नेकपा एमालेका नेता केशव बडाल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालका भाइ (काकाको छोरा) हुन्।
ब्युरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, कम्पनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि ललितपुर जिल्ला अदालतको पक्राउ अनुमतिमा सुवेदीलाई नियन्त्रणमा लिइएको हो।
सीआईबीको अनुसन्धानबाट सुवेदीले कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट जारी भएको आयात निर्यात सिफारिस पत्र किर्ते गरी विभिन्न भन्सार कार्यालयमा पेश गरेको देखिएको छ।
पशु सेवा विभागले कान्तिपुर भेटलाई पशुपक्षीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइण्डर जस्ता वस्तुहरू मात्रै नियमानुसार भन्सार शुल्क लाग्ने गरी आयात गर्न सिफारिस दिएको थियो।
तर, सुवेदीले उक्त सिफारिस पत्रमा उल्लेखित विवरण किर्ते गरेर नेपालमा दर्ता नभएका फाल्केयर १०%, फ्लोरुटिन ४५%, बिनोडक्स, लेभोफ्लक्स बीएस, पाइपेराजाइन लगायतका औषधि आयात गरेको पाइएको छ।
उकालोले २०८१ चैत १४ गते कान्तिपुर भेटले अवैध रूपमा भित्र्याएको एन्टिबायोटिकले जनस्वास्थ्यमा निम्त्याउन सक्ने भयावह संकटबारे विस्तृतमा रिपोर्टिङ गरेको थियो। त्यसैगरी, जेठ ४ गते प्रतिबन्धित तथा दर्ता नभएका एन्टिबायोटिक भित्र्याउन सरकारी कागजात किर्ते गर्ने व्यवसायी बडालका गतिविधिप्रति सरकारले आँखा चिम्लिँदा जनताको स्वास्थ्यमा पर्ने प्रतिकूल असरको जोखिमबारे अर्को रिपोर्ट प्रकाशन गरेको थियो।
भन्सार विभागको तथ्यांकअनुसार, सन् २०२० जुलाईदेखि २०२४ डिसेम्बरसम्म कान्तिपुर भेट डिष्ट्रिब्यूटरले मात्रै ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढी मूल्यका दर्ता नभएका एन्टिबायोटिक तथा अन्य औषधि आयात गरेको देखिन्छ।
यसमा नेदरल्यान्ड्स्को इन्टरकेमी कम्पनीका करिब १५ करोड ६० लाख र दक्षिण कोरियाली कम्पनी ‘केबीएनपी’का ६ करोड १४ लाख ९७ हजार मूल्यका औषधि समावेश छन्, जुन नेपालमा दर्ता नै छैनन्।
यस्तै, भारतको नेचुरल हर्ब्स कम्पनीले उत्पादन गरेको, नेपालमा दर्ता नभएको 'लिभोफ्लोक्स बीएच' नामक एन्टिबायोटिक पनि सन् २०२० यता सात करोड ३९ लाख आठ हजार मूल्यको आयात भएको तथ्यांक छ। कम्पनीले नेपालमा दर्ता नभएका भारतको नेचुरल रिमेडिज कम्पनीका चार करोड ४७ लाख मूल्यका एन्टिबायोटिक औषधि पनि भित्र्याएको थियो।
कान्तिपुर फर्मास्युटिकल्स, जुन बडालले नै सञ्चालन गरिरहेको अर्को कम्पनीले एउटा वस्तु ल्याउने अनुमति लिएर अर्कै वस्तु ल्याएको भन्सार र औषधि व्यवस्था विभागको कागजातबाट पुष्टि भएको थियो।
कम्पनीले फिड सप्लिमेन्टमा प्रयोग हुने सोडियम स्यालिसाइलेट आयातका लागि अनुमति लिएको थिएन। कम्पनीले सन् २०२१ यता १० हजार ५०० किलो 'सोडियम स्याकरिन' आयातको अनुमति लिएको र सोही परिमाणमा भन्सार तथ्यांकमा देखिए पनि कम्पनीले सोडियम स्याकरिनको नाममा सोडियम स्यालिसाइलेट नामक औषधि अवैध प्रक्रियाबाट भित्र्याएको थियो।
कम्पनीका सञ्चालक ऋषि बडालले उकालोसँगको कुराकानीमा सरकारी कागजात किर्ते गरेको स्वीकार गरेका थिए।
“दर्ता नभएको एन्टिबायोटिक झिकाउन औषधि व्यवस्था विभागको किर्ते सिफारिस मेरो कम्पनीले भन्सारमा बुझाएको हो। तर त्यो काम मैले होइन, मेरो भन्सार एजेन्टले गरेको हो,” बडालले भनेका थिए, “यो कामका लागि मैले सीआईबी र तत्कालीन गृह तथा हालका मुख्यसचिवकहाँ गएर माफी पनि मागिसकेको छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
