‘जेनजी’ पुस्तालाई प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस नेतृत्वको ध्यानाकर्षण

नेपाली कांग्रेसका युवाले पार्टीको महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका युवाले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवं केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवा‍ले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने, “पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक तहका समितिहरू अधिवेशनको संघारमा भए पनि महाधिवेशन हुने नहुने अन्यौलता छ। त्यसैले जेनजी प्रदर्शनपछिको अवस्थालाई ध्यान दिँदै पार्टी संगठनमा युवाहरूका लागि खुला पार्टीका रूपमा स्थापित गराउन, मुलुकमा व्याप्त बेथितिप्रति प्रगतिशील विचार भएका जेनजी समूहलाई आउँदो महाधिवेशनमार्फत सबै तहमा स्थापित गराउनु अनिवार्य छ। यसै विषयमा ध्यानाकर्षण गराएका छौँ।” 

युवाले सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको उम्मेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बन गर्न, पार्टीमा मनोनीत र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूको माग सकारात्मक रहेको र यसलाई सम्बोधन गर्न छलफल गरिने बताए। “युवा वर्गलाई निरुत्साहित गरिनु हुँदैन, उनीहरूको मागलाई सम्बोधन गर्नुपर्छ, निश्चित व्यवस्था गर्नुपर्छ। यस विषयमा छलफल हुन्छ”, उनले भने।

यस्तै, सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले ‘जेनजी’ समूहबारे राखिएका माग सकारात्मक रहेकाले निश्चित व्यवस्था गर्न पहल गर्ने बताए। पार्टी केन्द्रीय सदस्य एवं पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सबै समूहको एकताबाट मात्र पार्टीको हित हुने धारणा राखे। उनले युवा पुस्तालाई बाहिर राखेर पार्टीलाई संगठित र सशक्त बनाउन नसकिने भन्दै जनतामाझ जानका लागि पनि युवा प्रतिनिधित्वको विषय सम्बोधन गरिनुपर्नेमा जोड दिए।

केन्द्रीय कार्यसमिति बैठक असोज २८ गते
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते (सोमबार) का लागि तय भएको छ। असोज २३ गतेबाट शुरू भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवं कार्यसम्पादन समितिको बैठक शनिबार (आज) सम्पन्न भए पनि केही आन्तरिक तयारी आवश्यक भएकाले केन्द्रीय कार्यसमितिको बैठक निर्धारित समयभन्दा दुई दिन पछि सारिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरी केन्द्रीय कार्यसमिति बैठकका अजेन्डा तय गरिने प्रवक्ता महतले बताए।

प्रवक्ता महतका अनुसार, हालै सम्पन्न बैठकमा पार्टी र देशको समसामयिक राजनीतिक अवस्थाबारे महत्त्वपूर्ण छलफल भएको छ। “भदौ २३ र २४ गतेको घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो,” उनले भने।

घोषित निर्वाचन र संसद् पुनर्स्थापनाका विषयमा समेत बैठकमा छलफल भएको छ। कांग्रेसले निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न नसकेको र निर्वाचनको सन्दर्भमा धेरै अन्यौलता रहेको निष्कर्ष निकालेको छ।

पार्टी महाधिवेशन विधिसम्मत रूपमा प्रक्रिया पुर्‍याएर युवालाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा कार्यसम्पादन बैठकका यी निष्कर्षहरूमाथि थप गहन छलफल हुने र ठोस निर्णय लिइने प्रवक्ता महतले उल्लेख गरे।