गत वर्षको लगातारको वर्षापछि सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिने क्रम रोकिएको छैन। दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ।
सिन्धुली– कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर बस्ती नै जोखिममा परिरहेको छ। यहाँ हायु समुदायको मात्रै बसोबास रहेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोली निरीक्षण गर्न यहाँ पुग्यो, तर प्रभावित हायु परिवारमा कुनै उत्साह थिएन। प्रभावित परिवार स्थलगत निरीक्षणमा पुगेका सरकारका प्रतिनिधिहरूसँग सहयोगको याचना गरे। यद्यपि, सरकारबाट तत्कालै केही हुन्छ भनेर पूर्ण रूपमा आशावादी हुन सकेनन्।
यसको कारण थियो, यहाँ न पहिलो पटक जमिन भासिएको हो, न त पहिलो पटक सरकारी टोली आएको हो। अघिल्लो वर्ष पनि उसैगरी सरकारका प्रतिनिधिहरू यहाँ निरीक्षण गर्न पुगेका थिए, तर जोखिम क्षेत्रमा बसोबास गरिरहेका प्रभावित बस्तीका समस्या न्यूनीकरणका लागि पहल नभएकाले कुनै उत्साह नआएको प्रभावित हायु परिवारको गुनासो छ।
“जमिनचिरा–चिरा परेर फाटेको छ। जमिन सरेर बस्ती ढल्किएको छ। कुन समय माटो सोरिएर तल पहिरो खस्छ ठेगान छैन। हामी त्रासै–त्रासमा छौँ। पानी पर्न थालेपछि डरले मुटु काम्न थाल्छ”, प्रभावित पूर्णिमाया हायुले भनिन्, “हाम्रो दुःख हेर्न त सरकार आउँछ, तर हालसम्म दुःख हटाउन केही गरेको छैन।”
पूर्णिमायाजस्तै कमलामाई नगरपालिका–१ सिम्लेका १५ घरका हायु परिवारको पनि त्यस्तै गुनासो छ। गत वर्ष लगातार भएको वर्षापछि यहाँको जमिन भासिएर बस्ती जोखिममा परेको थियो। यो क्रम रोकिएको छैन। जोखिम झनै बढेको छ। “घरको आधा भाग झुकेको छ। जमिन फाटेको छ। धानखेत, बस्ती सबै सरेर तल झर्दै गएको छ। कहाँ जाने? आफूसँग भएको जग्गा, जायजेथा सबै यहीँ छ”, स्थानीय फूलकुमारी हायुले दुखेसो पोखिन्।
वडा नं १ का अध्यक्ष नरेश गोलेले सिम्लेको हायु बस्ती एक वर्षदेखि जोखिममा रहेको र सुरक्षित आश्रयस्थलको अभावमा अझै पनि जोखिमपूर्ण बस्तीमा बस्न बाध्य रहेको बताए। “यो समस्या नयाँ होइन। अघिल्लो वर्षदेखि नै यहाँका २०० भन्दा बढी व्यक्ति प्रभावित छन्। यही असोज १७ देखि २१ असोजसम्म परेको अविरल वर्षापछि जमिन थप भासिँदै गएको छ। बस्तीको संरचना नै अस्थिर बन्दै गएपछि स्थानीयवासी अत्तालिन थालेका छन्,” उनले भने।
वडाध्यक्ष गोलेका अनुसार जोखिममा रहेका सबै घरको सूची बनाएर अघिल्लो वर्ष नै नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको छ। सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि स्थलगत निरीक्षणबाहेक थप प्रगति नभएको उनको भनाइ छ। “जोखिम क्षेत्रमा बसिरहनु खतरनाक हुन्छ, त्यसैले अब बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन। समस्याको दीर्घकालीन समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य अत्यावश्यक छ,” वडाध्यक्ष गोलेले भने।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले यहाँको अवस्थाबारे सम्बन्धित निकायमा प्रतिवेदन पठाएर समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने आश्वासन दिए। “बस्ती जोखिममा छ। हायु परिवार त्रासमा छन्। सरकार हाम्रो साथमा छ भन्ने अनुभूति दिलाउन जोखिममा रहेका बस्ती पुगेर प्रभावित व्यक्तिलाई भेटेर संवाद गरेका छौँ। समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। अब तत्कालै विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्नेछौँ।”
नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले पनि आवश्यक समन्वय र पहल गरिरहेको बताए।
प्रकृतिलाई पूजक हायु समुदाय यतिबेला विपत्तिको चपेटामा छ। वर्षौंदेखिको थातथलो नै जोखिममा परेपछि प्रभावितहरूले स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको याचना गरिरहेका छन्। हरेक हिसाबले पछाडि परेको यो लोपोन्मुख जातिको अस्तित्व बचाउन सरकारले जतिसक्दो छिटो दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
