गाजामा खटिए ७ हजार हमास लडाकु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ।

काठमाडाैँ– हमासले आफ्ना लगभग सात हजार लडाकुलाई गाजामा पुन: तैनाथ गरेको छ। यसको उद्देश्य इजरायली सेनाहरू हालै फिर्ता भएका क्षेत्रहरूको नियन्त्रण पुनः प्राप्त गर्नु रहेको बताइएको छ।

हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ, जसमध्ये केहीसँग पहिले हमासको सशस्त्र शाखामा नेतृत्व सम्हालेको अनुभव छ।

रिपोर्टका अनुसार, हमासले फोन कल र टेक्स्ट सन्देशहरू मार्फत यो आदेश जारी गरेको थियो। उक्त सन्देशमा यसको लक्ष्य 'गाजालाई अपराधी र इजरायलका सहयोगीहरूबाट मुक्त गर्नु' रहेको भनिएको छ। लडाकुहरूलाई २४ घण्टाभित्र  समग्र अवस्थाबारे रिपोर्ट गर्न पनि भनिएको छ।

गाजाबाट प्राप्त रिपोर्टहरूका अनुसार, हमासका सशस्त्र एकाइहरू पहिले नै धेरै क्षेत्रहरूमा तैनाथ भइसकेका छन्, केहीले सामान्य पोशाकमा र अरू गाजा प्रहरीको पोशाकमा छन्।

युद्ध समाप्त भएपछि गाजामा कसले शासन गर्नेछ भन्ने बारेमा बढ्दो अनिश्चितताको बीचमा हमासको परिचालन व्यापक रूपमा अपेक्षित थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको शुरूआतलाई यसले जटिल बनाउन सक्ने बीबीसीले जनाएको छ। शान्ति योजनाबारे ट्रम्पको प्रस्तावमा हमासलाई नि:शस्त्रीकरण गर्नुपर्ने भनिएको थियो।

बीबीसीसँगको कुराकानीमा विदेशमा रहेका हमासका एक अधिकारीले सुरक्षा तैनाथीको रिपोर्टमा प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरे पनि उनले आफ्ना हतियारहरू वैध भएको बताएका छन्। उनले भनेका छन्, "हामी गाजालाई इजरायली कब्जाद्वारा समर्थित चोर र मिलिसियाको दयामा छोड्न सक्दैनौं। हाम्रा हतियारहरू वैध छन्। हाम्रो भूमिमा इजरायली कब्जाको प्रतिरोध गर्न र ती कब्जा जारी रहेसम्म रहनेछन्।"

गाजामा प्यालेस्टिनी प्राधिकरणमा वर्षौंसम्म सेवा गरेका एक सेवानिवृत्त सुरक्षा अधिकारीले भने गाजा क्षेत्र आन्तरिक रक्तपातको अर्को चरणतिर सर्ने डर रहेको बताएका छन्।​​​​​​​

"हमास परिवर्तन भएको छैन। यो अझै पनि विश्वास गर्छ कि हतियार र हिंसा नै यसको आन्दोलनलाई जीवित राख्ने एक मात्र माध्यम हो," उनले बीबीसीलाई भने। युद्धको समयमा लुटेराहरूले हमासका भण्डारहरूबाट हजारौं हतियार र गोला बारुद चोरेकाले अब झन् आन्तरिक द्वन्द्व बल्झिन् खतरा रहेको उनको भनाइ छ।

"निराशा, अराजकताका साथै थकित जनसंख्यामाथि ​​​​​​​पुन: नियन्त्रण स्थापित गर्ने हतारमा छ हमास, जसले गृहयुद्ध निम्त्याउन सक्छ," उनले भने।​​​​​​​