सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा थप अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भन्सार छली र संगठित अपराध कसुरमा पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पक्राउ गरेको छ।

सुनसहितको इसिगरेट (भेप) तस्करी प्रकरणमा आपराधिक समूह बनाई संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको भन्दै थप अनुसन्धानका लागि उनलाई सीआईबीले पुनः पक्राउ गरेको हो।

उनीमाथि भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा थप अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

“...भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेका रविचन महराको छोरा रोल्पा जिल्ला साविक लिवाङ गाविस वडा नं. ७ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २६ खुमलटार बस्ने वर्ष ६८ को कृष्णबहादुर महरालाई आज मिति २०८२/०६/२६ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको,” सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सीआईबीका अनुसार, २०७९ पुस १० गते फलाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सङले दुई वटा सुटकेसभित्र रहेका ७३० थान इलेक्ट्रिक सिगरेट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो। जफत गरिएका ती वस्तुहरूलाई सरकारको जिम्मा र संरक्षणमा विमानस्थल भन्सार कार्यालयको स्टोर (गोदाम) मा राखिएको थियो।

विज्ञप्तिमा उल्लेख भएअनुसार, भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्कासमेतको संलग्नतामा उक्त सरकारी गोदामबाट दुई वटा सुटकेसभित्र रहेका ७३० थान सुनसहितको इलेक्ट्रिक सिगरेट अवैध रूपमा निकालिएको थियो। उनीहरूको समूहले सो सिगरेटमा रहेको आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध रूपमा बिक्री गरी संगठित रूपमा आपराधिक लाभ लिएको सीआईबीले जनाएको छ।

सोही प्रकरणको थप अनुसन्धानका लागि महरालाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो। उनी यही प्रकरणमा गत वर्ष पनि पक्राउ परेका थिए। उनलाई गत चैत ५ मा कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। चैत ९ गते जिल्ला सरकारी वकिलको कार्यालयले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर, अनुसन्धानका लागि आवश्यकता पर्दा उपस्थित हुने शर्तमा छोराको रोहबरमा छाडेको थियो।