जाँचबुझ आयोगले माग्यो राजनीतिक दल र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण

जाँचबुझ आयोगले 'जेनजी' प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।

काठमाडौँ– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा काठमाडौँलगायत विभिन्न स्थानमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ तथा प्रमाणित विवरण तोकिएको ढाँचामा पठाउन आग्रह गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा घटना पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए ती पनि उपलब्ध गराउन अनुरोध गरिएको छ। क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पठाउन सकिने व्यवस्था मिलाइएको जनाइएको छ।

'जेनजी' प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगका सदस्यहरूमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। आयोगलाई घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न तीन महिनाको समय दिइएको छ।