त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ३ भारतीय नागरिक पक्राउ

बैंककबाट काठमाडौँ आएका तीन भारतीय नागरिक ११ किलोभन्दा बढी गाँजासहित पक्राउ परेको प्रहरीले बताएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर छन्।

“एयर एशियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो,” उनले भने।

प्रवक्ता घिमिरेका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ।