नेप्से परिसूचक ४४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सोमबार सुधार आएको छ।

सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो। यो १.७६ प्रतिशतको वृद्धि हो। आइतबार भने नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको थियो। 

नेप्से परिसूचकमा वृद्धि आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ। सोमबार ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ। बैंकिङ ०.२८, विकास बैंक १.४१, वित्त १.०२, होटल तथा पर्यटन ३.३५, जलविद्युत् २.१०, लगानी २.२७ र जीवन बीमा समूहको उपसूचक १.९२ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त ०.६३, म्युचुअल फन्ड ०.३२, निर्जीवन बीमा १.४४, व्यापार २.८१ र अन्य समूहको उपसूचक ५.०१ प्रतिशतले बढेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दित सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३१ करोड ९१ लाख ४ हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको पाँच लाख २३ हजार २३३ कित्ता शेयर किनबेच भएको हो।