विश्वकप छनोट: कतारमाथि नेपालको ५ रनको जित

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।

काठमाडौँ– ओमानमा जारी आईसीसी पुरुष टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गरेको छ। 

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सोमबार राति भएको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो। 

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए। त्यस्तै जुबेर अलीले ५२ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। त्यस्तै नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर  १४७ रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए।  त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे। 

यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए। सुपर सिक्सअन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो।