तिहारअघि चार शहरमा प्रदर्शन हुँदै नाटक ‘लस्ट एन्ड फाउन्ड’

लस्ट एन्ड फाउन्ड नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन्। नाटकको मुख्य भूमिकामा पवित्रा खड्का र सागर तिमल्सिना छन्।

काठमाडौँ– नाटक ‘लस्ट एन्ड फाउन्ड’ काठमाडौँबाहिर पनि मञ्चन हुन भएको छ। शिल्पी थिएटरको प्रस्तुति रहेको नाटक तिहारअघि देशका चार शहरमा मञ्चन हुन लागेको हो। 

नाटकमा अनागरिकका कथा, महिला मनोभावना, ऐतिहासिक पात्र यशोधरा मार्फत भूत र वर्तमान कालको चेतना, सम्बन्धका गहिराइ र पात्रहरूको मनोदशा, कलिलो उमेरमा गरिएको विवाहको दुखान्त समेटिएको छ। 

असोज २८ मा भरतपुरको नारायणी कला मन्दिरदेखि शुरू हुने यस पटकको नाटक मञ्चन असोज ३० गते दमौलीमा हुनेछ। दमौलीपछि पोखरा र दाङमा प्रदर्शन हुने जनाइएको छ। 

पोखराको पोखरा थिएटरमा कात्तिक १ गते र घोराहीको दियालो होटलमा कात्तिक ३ गते हुनेछ। तिहार लगत्तै टोली पूर्वको यात्रामा निस्किनेछ।

गत जेठमा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भएको नियमित शोपश्चात् नाटकको टोली अन्तर्राष्ट्रिय नाट्य फेस्टिभलका लागि युरोप टुरमा निस्किएको थियो। ४० दिनको युरोप यात्रामा डेनमार्क, जर्मनी र स्विडेनका ९ शहरमा मञ्चन भएको थियो।

लस्ट एन्ड फाउन्ड नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन्। नाटकको मुख्य भूमिकामा पवित्रा खड्का र सागर तिमल्सिना छन्।