मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे राजीनामा घोषणा

प्रदेशसभा बैठकमा विश्वासको मत लिने तालिका रहे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गरेका छन्।

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिने घोषणा गरेका छन्। प्रदेशसभा बैठकमा विश्वासको मत लिने तालिका भए पनि उनले मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गरेका हुन्।

मंगलबार प्रदेशसभालाई सम्बोधनका क्रममा आफूले सत्ता र पदका लागि नभई जनताका लागि काम गर्न चाहेको उल्लेख गर्दै उनले भने, “वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु,”

प्रदेशसभामा अल्पमतमा परेपछि सिंहले विश्वासको मत नलिँदै राजीनामा घोषणा गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले सिंहलाई राजीनामा लिखित रूपमा प्रदेश प्रमुखको कार्यालयलाई बुझाउन निर्देशन दिएका छन्।

सभामुखले मुख्यमन्त्रीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम राजीनामा घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने स्पष्ट पारे। यससँगै मधेश प्रदेशमा अब नयाँ सरकार निर्माणको बाटो खुलेको छ।

मुख्यमन्त्री सिंहले आफ्नो पार्टीले आफूविरुद्ध मिडिया ट्रायल गरेर गलत भाष्य निर्माण गरेको र बदनाम गर्न प्रपञ्च रचेको आरोप लगाए।

“राजीनामा दिने तयारी गरिरहँदा आफूलाई एक शब्द नसोधी फिर्ता बोलाएको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो,” उनले भने, “यो तानासाही प्रवृत्ति नभए के हो?” उनले मनपरी र कानूनको उल्लंघन गर्दै आफ्नो चरित्र हत्या गरिएको पनि दाबी गरे।