नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले खड्कालाई विधानअनुसार सो जिम्मेवारी दिएको हो।
बैठकमा सभापति देउवाले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा आफ्नो स्वास्थ्यका कारण उनले खड्कालाई कार्यवाहक सभापति बनाएको र खड्काले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गरे। देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक देखिएका हुन्। केन्द्रीय कार्यसमिति बैठक बिहीबार (असोज ३० गते) दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।
बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे। उनले भदौ २३ मा जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई निर्दोष युवाको ज्यान गएको बताए।
उनले भदौ २४ गते राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र अन्य महत्त्वपूर्ण संरचनाहरूमा भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीप्रति चिन्ता व्यक्त गरे। यो घटना नेपाली इतिहासकै 'डरलाग्दो दिन'का रूपमा लिपिबद्ध हुने उनको भनाइ छ।
देउवाले जेनजीको सुशासन, भ्रष्टाचारमुक्त वातावरण र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागहरूलाई सम्बोधन गरिनुपर्ने धारणा व्यक्त गरे। उनले यो त्रासदीपूर्ण घटना आकस्मिक वा स्वतःस्फूर्त नभई सुनियोजित र योजनाबद्ध भएको बाहिर आएका तथ्यहरूले पुष्टि गर्न थालेको भन्दै यथाशीघ्र थप अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
उनले कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेलेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्दै उनको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको बताए।
कांग्रेस सभापति देउवाले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर एकताबद्ध हुन सबैलाई आग्रह गरे।
पार्टीको आन्तरिक जीवन र नेतृत्व हस्तान्तरणका सवालमा देउवाले १५औँ महाधिवेशनबाटै नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्ने पुरानो प्रतिबद्धता दोहोर्याए। ‘घरमा सधैँ एकै जना मूली रहँदैन,’ भन्दै उनले आगामी महाधिवेशनबाट आफूबाहेक अरू कोही सभापति बन्नेमा द्विविधा नरहेको स्पष्ट पारे।
देउवाले संविधान जोखिममा परेको र प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन गरिएको कुरालाई पुनः दोहोर्याए। उनले वर्तमान विषम परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए।
उनले सरकारले फागुन २१ गते निर्वाचन मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण नबनेको तथा शान्ति सुरक्षाको ग्यारेन्टी नभएकोमा चिन्ता व्यक्त गरे। “स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनमा सुरक्षा निकाय मौन र निरीह भएका छन्,” उनले भने।
देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको विश्वास व्यक्त गर्दै निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणको सुनिश्चितता गराउने जिम्मा सरकारको रहेकोतर्फ देउवाले ध्यानाकर्षण गराए।
मुलुकमा संकट आएका बेला त्यसको निकास कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात् गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढ्न पनि उनले आह्वान गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
