हमासबाट फिर्ता गरिएका चार बन्धकका शवमध्ये विपीन जोशीसहित दुईको पहिचान पुष्टि

इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार बन्धक शवमध्ये नेपाली विद्यार्थी विपीन जोशी र इजरायली नागरिक गाइ इलुजको पहिचान पुष्टि गरेको छ।

इजरायली सेनाले मंगलबार हमासले फिर्ता गरेका चार बन्धकका शवमध्ये नेपाली विद्यार्थी विपीन जोशी र इजरायली नागरिक गाइ इलुजको पहिचान पुष्टि गरेको छ। अन्य दुई बन्धकको नाम भने हाललाई परिवारको अनुरोधमा सार्वजनिक गरिएको छैन।

२२ वर्षीय जोशी सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए। उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए।

जोशीका सहपाठी हिमाञ्चल कट्टेलले एएफपीलाई बताएअनुसार, आक्रमणका क्रममा आतंककारीले उनीहरू लुकेको आश्रयमा ग्रेनेड फ्याँकेका थिए। जोशीले ग्रेनेड समातेर विस्फोट हुनुअघि नै बाहिर फ्याँकिदिएका थिए। भावुक हुँदै कट्टेलले भने, “उहाँको वीरताले मेरो ज्यान बचायो।”

आक्रमणअघि जोशीले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको तस्वीर सार्वजनिक भएको थियो। इजरायली सेनाका अनुसार युद्धको पहिलो महिनामा कैदमै उनको हत्या भएको अनुमान छ।

इजरायली सेनाको विज्ञप्तिअनुसार २६ वर्षीय गाइ इलुज हमासको आक्रमणका क्रममा दक्षिण इजरायलमा आयोजित नोभा संगीत महोत्सवबाट अपहरणमा परेका थिए।

इलुज आक्रमणको समयमा जिपमा भाग्ने प्रयासमा थिए र पछि रूखमा लुकेका थिए। त्यहीँबाट उनले आफ्ना आमाबाबुसँग अन्तिम सम्पर्क गरेका थिए। त्यसपछि उनलाई कब्जा गरी गाजामा लगिएको थियो।

सेनाका अनुसार इलुज अपहरणका क्रममा घाइते भएका थिए र कैदमा रहँदा उपचारको अभावमा उनको मृत्यु भयो। उनको मृत्युको सटीक मिति सार्वजनिक नगरिए पनि सन् २०२३ डिसेम्बरमा निधन पुष्टि गरिएको थियो। इलुज प्रसिद्ध इजरायली संगीततकारहरूका लागि ध्वनि टेक्निसियनको रूपमा कार्यरत थिए।

होस्टेजेस एन्ड मिसिङ फेमिलिज फोरम नामक मुख्य इजरायली समूहले विज्ञप्ति जारी गर्दै भनेको छ, “गाइ र विपीनको पुनरागमनले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चिततामा बाँचिरहेका परिवारहरूलाई केही हदसम्म सान्त्वना दिएको छ। तर हामी सबै २४ जना बन्धक घर नफर्किएसम्म आराम गर्नेछैनौँ।”

चार शव फिर्ता गरिनु युद्धविराम सम्झौताको एक अंग हो। हमासको कब्जामा अझै २४ जना बन्धकका शवहरू रहेको र ती पनि निकट भविष्यमा युद्धविराम सम्झौताका सर्तअनुसार फिर्ता गरिने अपेक्षा गरिएको छ।