नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भयो। साथै, कारोबार रकम पनि ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँमा खुम्चियो।

काठमाडौँ– शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ।

यस दिन नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा कायम भयो। यसअघि सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको थियो।

मंगलबार कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख रुपैयाँमा खुम्चिएको छ। सोमबार चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको तुलनामा यो डेढ अर्बभन्दा बढीको गिरावट हो। यस दिन ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री भयो।

कारोबार भएका १३ उपसूचकमध्ये तीन समूहको मात्र मूल्य बढेको छ। यस दिन म्युचुअल फन्ड ०.०६, व्यापार १.४८ र अन्य समूह ०.७९ प्रतिशतले बढेका छन्।

त्यस्तै, जलविद्युत् १.७१, वित्त १.४०, लगानी १.१६, होटल तथा पर्यटन १.११, र निर्जीवन बीमा समूहको उपसूचक १.१० प्रतिशत घटेको छ। यसैगरी बैंकिङ ०.८२, विकास बैंक १.००, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान ०.९८, र लघुवित्त ०.७९ प्रतिशतले घटेका छन्।

यस दिनको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा मङ्गलबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ३२ करोड ७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै एचआईडीसीएल प्रमोटर शेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ।