‘ए’ डिभिजन लिग: विमलले यो सिजन मछिन्द्रबाटै खेल्ने

मछिन्द्रले विमल घर्तीमगरसँग थप एक सिजनका लागि सम्झौता नवीकरण गरेको छ।

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरले मछिन्द्र फुटबल क्लबबाटै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन्।

मछिन्द्रले शुक्रबार उनीसँग थप एक सिजनका लागि सम्झौता नवीकरण गरेको हो। २०७६ मा मछिन्द्र भित्रिएका उनले लिगका एक खेल मात्रै खेलेका थिए।

यद्यपि, उनले मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा भने सहभागिता जनाएका थिए। गत सिजन उनले मछिन्द्रबाट ४ गोल गरेका थिए।

‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुने छ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगको विजेताले ७५ लाख पाउने छ। दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ लाख पाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।